Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुअघि अनिवार्य रुपमा सम्वन्धित पालिकाका प्रमुख या अध्यक्षसँग सपथग्रहण गर्नुपर्ने व्यवस्था गर्दैछ । 

प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयले तयार पारेको आचारसंहितामा पालिका पुगेर पदभार ग्रहण गर्नुअघि सपथग्रहण गर्नुपर्ने र यसको जानकारी संघीय मामिला मन्त्रालयमा गराउनु पर्ने व्यवस्था समेटिएको हो । 

प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न अनैतिक अश्लील हर्कत र अनियमितता लगायतका भ्रष्टाचार विवादमा मुछिने क्रम बढेको भन्दै मन्त्रालयले आचारसंहिता बनाउन लागेको जनाएको  छ । 

‘नेपाल सरकारबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता’ नाम दिइएको आचारसंहिताको मस्यौदा तयार भइसकेको छ । 

मस्यौदामा प्रमुख प्रशासकीय अधिकृतले खुला तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न नहुने उल्लेख छ । ‘विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत जीवनको श्रव्य दृष्य सामग्री संग्रह गर्ने तथा प्रशारण गर्नु हुँदैन । कार्यलाय समय वा कार्यालय समयबाहिर सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने गरी व्यक्तिगत क्रियाकलाय गर्नु हुँदैन,’ आचारसंहिताको मस्यौदामा भनिएको छ । 

मन्त्रालयका सहसचिव सुमन दाहालको संयोजकत्वमा गठित कार्यदलले सचिवलार्य बुझाएको मस्यौदामा  कार्यालय र सार्वजनिक जीवनमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्मका नियम तोकिएका छन् । 

आचारसंहितामा प्रमुख प्रशासकयि अधिकृतले गर्नुपर्ने बर्तव्य र गर्न नहुने काम तोकिएको छ ।  जसअनुसार काममा लगनशील र तत्पर रहनुपर्ने, पदीय जिम्मेवारी निभाउँदा वृहत्तर सार्वजनिक हित हेर्नुपर्ने, वस्तुनिष्ठ र तथ्यगत आधारमा औचित्यपूर्ण निर्णय गर्नुपर्ने, सेवा प्रवाह सुधार्न क्रियाशील हुुनपर्नेलगायत छन् । 

सरकारी प्रतिक चिह्न, छाप, पास, साँचो, पासवर्ड, सिल हिफाजतपूर्वक प्रयोग गर्नुपर्ने, तथ्य वा तथ्यांक वा मुद्दालाई बंग्याएर अपव्याख्या गर्न नहुनेसहित व्यक्तिगत फाइदा हुने वा अरुको चरित्र हत्या गर्ने जस्ता व्यवहार गर्न नहुने आचारसंहिताको मस्यौदामा उल्लेख छ । 

स्थानीय तहबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना दिन नहुने र आफ्नो पीरमर्का वा गुनासो सञ्चार माध्यम वा सामाजिक सञ्जालमा राख्न नहुने, व्यक्तिगत मान, सम्मान र पदीय मर्यादामा आँच पुग्ने सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशन भएका समाचारमा प्रतिकृया लेख्न नहुने आचारसंहितको मस्यौदामा उल्लेख छ । 

मन्त्रालय तथा स्थानीय तहका प्रमुखले निर्देशन दिएमा जुनसुकै समय र स्थानमा उपस्थित भएर तोकिए बमोजिमको काम गर्नुपर्ने समेत मस्यौदामा उल्लेख छ ।

कार्यालयमा तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने, प्रभाव, प्रलोभन, भनसुन वा आग्रहबाट प्रभावित नहुने, र काम विशेषले कार्यालय बाहिर जाँदा रजिस्टर वा विद्युतीय प्रणालीमा विवरण खुलाउनपर्ने आचारसंहितको मस्यौदामा उल्लेख छ ।

सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ । 

आचारसंहितामा कार्यालय समयभित्र व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गर्न नहुने, सरकारी कामका लागि स्थानीय तहको इमेल ठेगाना मात्र प्रयोग गर्नुपर्ने , आधिकारिक निर्णय वा जानकारी वा सूचना अनाधिकृत रुपमा सामाजिक सञ्जालमा राख्न नहुने भनिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update