Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’

काठमाडौँ । आगामी २१ फागुनदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि मतदान जारी  छ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज ७ प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने वित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । 

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ । 

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । 

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ मतदाता छन् । 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ । 

गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ४ सदस्य पदको लागि मतदान जारी छ । स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरे । 

उक्त भवनमा मतदान केन्द्र (क)मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा  राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी छ ।  घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । 

मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचन अधिकृत पाण्डेका अनुसार  ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने व्यबस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरि २१८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कोशी प्रदेशमा राष्ट्रियसभाका २ सदस्य निर्वाचनको मतदान जारी छ ।  प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन् । 

बालेनले भ्याएनन्

प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मतदान गर्न लाइनमा बस्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भने काठमाडौँमै छन् । उपप्रमुख सुनिता डंगोल मतदान गर्न हेडौंडा पुग्दा बालेन काठमाडौँमै रोकिएका हुन् । 

कार्य व्यवस्तताका कारण मेयर बालेन मतदान गर्न हेडौंडा जान नभ्याएको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । उनले यसअघि प्रदेशसभा निर्वाचनमा पनि मतदान गरेका थिएनन् । 

matadan51706165660.jpg

matadan11706165653.JPG

matadan21706165633.JPG

matadan31706165621.jpg

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update