Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै डोल्पाका मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादव, गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य राम कुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

काम गरेको भन्दा बढी रकम देखाएर झन्डै ११ लाख भुक्तानी दिएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । आयोगका अनुसार डाँगी, रावत र यादवले मिलेमतोमा स्थानीय घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सहमति भएको तर त्यस विपरीत गएर धेरै काम गरेको देखाएर १० लाख ९७ हजार ८५२ रुपैयाँ २९ पैसा उपभोक्ता समितिलाई भुक्तानी दिएका थिए ।

वडाध्यक्ष रोकाया, कार्यपालिका सदस्य नेपाली  र वडा प्राविधिक बुढाले सडक निर्माण योजनामा भए गरेका कुरा लुकाई छिपाई र नभए नगरेका कुरा देखाई प्रतिवेदन पेस गरेको र मुड्केचुला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डोल्पालाई उक्त योजनाको कार्य सम्पन्न भएकोले रकम भुक्तानी गर्न सिफारिस गरेको अभियोग आयोगको छ । 

उपभोक्ता समितिका अध्यक्ष मानबहादुर र कोषाध्यक्ष निर्मलाले निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकासँग सम्झौता गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी उपभोक्ता समितिले कार्यसम्पन्न प्रतिवेदन, विल भरपाई, डोर हाजिरी लगायतका कागजात पेस गरेको तर सर्त एवं सम्झौता विपरीत सम्झौताबमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी भुक्तानी लिएको उनीहरुविरुद्ध अभियोग छ । 

रुपनीका अधिकृतविरुद्ध पनि भ्रष्टाचार मुद्दा 

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५जनाविरूद्ध पनि आजै भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियारले  गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी र्पुयाएको आरोप छ । गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update