Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकामा अब सम्पदा बस

काठमाडौं । काठमाडौं उपत्यकामा सम्पदा बस सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सांस्कृतिक वैभव सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित सम्पदा बस सेवा सञ्चालनमा ल्याइएको हो ।
मंगलबार पर्यटनमन्त्री सुदन किरातीले बस सेवा उद्घाटन गरेका हुन् । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको पनि उपस्थित थिए ।
नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा २ वटा विद्युतीय बसमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । 
उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदासम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट  ‘हप अन हप अफ बस’ सञ्चालन हुनेछन् ।
‘हप अन हप अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ । 
तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइनेछ । काठमाडांै उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालनमा हुन लागेको हो ।
यस्तो बस सेवाले स्वदेशी तथा विदेशी पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्र्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सेवा दिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए ।
साझाले काठमाडौंमा पहिलो पटक सम्पदा बस सेवा सुरु गर्न लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार भोलिदेखि हरेक दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म बसले सेवा दिइनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update