Odapalika - The Fourth Estate - चौथो अंग
१० वर्षदेखि सडक निर्माण अलपत्र

दैलेख । आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट सडक निर्माण १० वर्षदेखि अपलत्र पर्दा खाद्यान्न ढुवानीमा बर्सेनि समस्या भइरहेको छ । २०७० सालमा निर्माण थालिएको सडक हालसम्म पनि निर्माण हुन नसकेको हो ।

सडक नहुँदा दैलेखकै विकट यी गाउँमा खाद्यान्न ढुवानीमा बर्सेनि समस्या हुँदै आएको छ । सडक नबन्दा स्थानीय ६ घन्टाको पैदल यात्रा गर्न बाध्य छन् ।
सडक निर्माणका लागि बजेट विनियोजन भए पनि उपभोक्ता समिति गठनमा दलीय विवाद हुँदा निर्माण अघि नबढेको हो । स्थानीयका अनुसार उपभोक्ता समितिमा विवाद हुँदा निर्माणले गति नलिएको हो । ‘सडक निर्माण तथा मर्मतको काम गत कात्तिकमा सम्पन्न हुनपर्ने थियो । विवादकै कारण कामै हुन सकेन, पुनः म्याद थप भएको छ । अझै उपभोक्ता समिति गठनमै विवाद भइरहेको छ,’ स्थानीय नैन शाहीले भने ।
सडक बोर्ड र आठबिस नगरपालिकाको साझेदारीसहित ४१ लाख रूपैयाँ लागतमा निर्माण हुनुपर्ने सडकको काम सुरु हुनै सकेको छैन । सडक निर्माण नहुँदा खाद्यान्न ढुवानीका साथै अन्य पूर्वाधार निर्माणमा समस्या परेको स्थानीय जनप्रतिनिधि बजिरसिंह विकले बताए । सडक नहुँदा दीप माविको भवन निर्माणमा समेत असर परेको छ ।

विद्यालयको चारकोठे भवन निर्माणका लागि प्रदेश सरकारले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस भवनको निर्माण असारभित्रै सम्पन्न गर्नुपर्ने छ । 
नगरपालिकाले पनि पीपलकोटको विकास निर्माणमा खासै चासो नदिएको स्थानीय बताउँछन् । निर्वाचनमा सडक, विद्युत्, खानेपानी र शिक्षमा अब्बल काम गर्ने आश्वासन बाँडेका जनप्रतिनिधिले हाल चासो नदिएको स्थानीयको गुनासो छ । ‘पहिले बाटो, खानेपानी, स्कुल बनाउने भनेर भोट मागे । जितेपछि चासै दिँदैनन्,’ स्थानीय मदन विकले भने । 
नगर प्रमुख तर्कबहादुर बडुवालले सडक निर्माणका लागि विवादरहित उपभोक्ता समिति गठन गर्न आग्रह गरिएको बताए । ‘सडक निर्माण कार्य छिटो सुरु हुनुपर्छ । समिति गठनमै विवाद हुँदा सडक निर्माणको काम गुणस्तरीय र दिगो हुँदैन । त्यसैले वडाका अगुवा बसेर विवादरहित समिति गठन गर्न भनेका छौँ’, उनले भने ।
यता, कणर्ाली राजर्मागको खिड्कीजिउला बजारको बेलिब्रिज भासिने अवस्थामा पुगेको छ । कणर्ाली राजमार्गको उक्त पुल जीणर् बन्दै गएको छ । दैनिक आवतजावत गर्ने उक्त पुलमा सानादेखि ठुलासम्म गरी दैनिक २०० को हाराहारीमा सवारी आवतजावत गर्छन् । पुल मर्मतमा सडक डिभिजन कार्यालयले चासो नदिएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update