Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै

काठमाडौँ । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । 

संबैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे संबैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने छ ।

विपक्षी एमालेले नचाहेसम्म प्रधानन्यायाधीश नियुक्ति सिफारिस नै कठिन हुनेछ । एमालेले प्रधानन्यायाधीशसँगै न्यायाधीशहरू नियुक्तिका विषय पनि एकै साथ टुंगो लगाउनुपर्ने जनाउँदै आएका छन् । तर, प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनबाट अनिर्वाय अवकाशमा जाने भन्दै न्यायाधीशहरूका विषयमा पछि छलफल गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने संबैधानिक व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दलका नेतामा एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि एमालेबाटै निर्वाचत सांसदहरु छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update