Odapalika - The Fourth Estate - चौथो अंग
केन्द्रीय विद्युत अब उज्यालो हुँदैछन् महाभारत र खानीखोला गाउँपालिका पनि

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको थप तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको  छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम भनेर सुचीकरण गरेका दुई र मध्यदुर्गम भनिएको एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो । 

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् । 

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युतको माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । 

लघु–जलविद्युतले धान्न नसकेपछि र स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युतको माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार केन्द्रीय प्रसारलाइन जोडिएपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन । 

प्राधिकरणको बनेपास्थित वितरण केन्द्रप्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ । वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको जानकारी दिदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताए ।

केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पु¥याइसकिएको केन्द्रका सूचना अधिकारी सुरोज पराजुलीले बताए ।

उनका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ । खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए ।

वडाध्यक्ष स्याङ्तानका अनुसार ठेकेदार कम्पनीले बिग्रेको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए ।

यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ । हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।

उनका अनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो । वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पु¥याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । अध्यक्ष लामाका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update