Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका पालिकाका वडावडामा पुगेर सुझाव लिदै नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका सबै पालिकाका वडावडामा पुगेर सुझाव संकलन गर्ने भएको छ ।

संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न कांग्रेस वडामा केन्द्रित हुने भएको हो ।

नेपाली कांग्रेसले घोषणा गरेको समुदायमा कांग्रेस अभियानमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूलाई वडामा केन्द्रित गराउन लागिएको पार्टीले जानकारी दिएको छ ।

समुदायमा गएर जनताका कुरा सुन्न यो अभियान सञ्चालन गरिएको महामन्त्री गगन थापाको भनाइ छ । नेपाली कांग्रेसको वडामा केन्द्रीत हुने अभियान आगामी शनिबारदेखि माघ २६ गतेसम्म रहनेछ ।

स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने नेपाल कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने उनको भनाइ छ ।

कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा महासमिति बैठक गर्दैछ। यो बैठकबाट पार्टीले लिने नीति तय हुनेछ। महासमिति बैठकअघि कांग्रेस वडा तहमा पुगेर सुझाव संकलन गर्न लागेको हो ।

कांग्रेसले वडा तहमा केन्द्रित हुनका लागि जिल्लाहरूमा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिले यही माघ १५ गतेदेखि मुलुकका ६ हजार ७ सय ४३ वडामा प्रतिनिधि खटाउनेछ।

कांग्रेसले वडा तहमा श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुन नेताहरूलाई निर्देशनसमेत दिएको छ। समुदायमा कांग्रेस अभियानकै क्रममा महामन्त्री थापा हुलाकी राजमार्गकेन्द्रित अभियानमा हुनेछन्। थापाले २१ जिल्लामा कार्यकर्ता र जनताका कुरा सुन्न खोजेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update