Odapalika - The Fourth Estate - चौथो अंग
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत 

काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज(मंगलबार)सकिंदै छ । 

प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागिसकेको छैन ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ । 

एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ । राप्रपाको समर्थन पाउने विश्वासिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजिनामा गरेर भएपनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् । 

तर, गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन् । 

कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् । सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् । 

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा २१ असारमा गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।    
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update