Odapalika - The Fourth Estate - चौथो अंग
एमबिबिएस पढ्न संघर्षरत ललित सार्कीः ५० स्थानबाट सहयोगको फोन, खातामा १ लाख बढी जम्मा

काठमाडौँ । पूर्णसरकारी छात्रवृत्तिमा एमबिबीएस अध्ययनका लागि नाम निकाले पनि काठमाण्डौँमा बसाइलगायत व्यवस्थापन खर्चका लागि गुहार माग्दै हिडेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका १७ वर्षीय ललित सार्कीलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

आर्थिक अभावका कारण घरमै अध्ययन तयारी गरेर एमबिबीएसको पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेको विषयमा समाचार प्रकाशित भएपछि देश तथा विदेशबाट सहयोग प्राप्त हुन थालेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि छनौट हुनुभएका सार्कीले आर्थिक अवस्था निकै कमजोर भएकै कारण अध्ययन अवधिभर काठमाडौँ बसोबासकोका लागि चाहिने रकमका लागि भीमदत्त नगरपालिका धाइरहेका थिए ।

सो समाचारपछि देउराली फाउन्डेसनले उनलाई एक वर्षसम्म मासिक १५ हजार रुपैयाँका दरले सहयोग  उपलब्ध गराउने सम्झौता गरेको छ ।

सार्कीको छात्रबास, खाना र स्टेसनरी खर्चबापत एक वर्षका लागि सो रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गर्दै फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले एमबिबीएस अध्ययन गर्ने सार्कीलाई पढाइ अवधिभर सहयोग गरिने बताए ।

‘प्रत्येक वर्ष उहाँको पढाइको नतिजा हेरेर सम्झौता थप्दै जान्छौँ’, उनले भने, ‘अहिलेलाई पहिलो वर्षको सम्झौता गरिएको छ । उक्त समाचार प्रकाशित भएपछि उहाँको अवस्था बुझेर फाउन्डेसन सहयोग गर्ने निर्णयमा पुगिएको हो ।‘

समाचार आएपछि हालसम्म एक लाख १० हजार रपैयाँ खातामा जम्मा भइसकेको छ ,खुसी व्यक्त गर्दै सार्कीले भने, ‘आधा दर्जनभन्दा बढी व्यक्ति र संस्थाले पढाइ अवधिभरको खर्च व्यहोरिदिने पनि भनेर फोन आइरहेको छ ।’

समाचार प्रकाशित भएपछि अमेरिका, भारत, काठमाडौँ, धनगढीलगायत ठाउँबाट ५० जनाभन्दा बढी सहयोगी मनले विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गरेको उनले बताए ।

घरमा एक कट्ठा जमिन मात्रै घडेरी रहेको र परिवारमा आर्थिक अवस्था कमजोर भएका बेला अध्ययनका लागि सहयोग पाउँदा खुसीको सीमा नरहेको उनको भनाइ थियो ।

एसइईसम्मको अध्ययन गाउँकै सिद्धनाथ माध्यमिकबाट पूरा गर्नुभएका सार्कीले दाताहरुकै सहयोग तथा कलेजको सहयोगमा महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पास गरेका थिए । ‘आर्थिक अवस्थाले नभ्याउने भएकाले यही सुदूरपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएको थिएँ’, पढाइमा अब्बल सार्कीले भने, ‘घरको रोटी खाएर साइकल चढी विश्वविद्यालय आउने सोच बनाइएकामा अहिले एमबिबीएस पढेर चिकित्सक बन्ने सपना बुन्न अघि बढेँ ।’

उनले दाता र सहयोगी सङ्घ संस्थाहरुबाट सहयोगका लागि लगातार सम्पर्क भइरहेको जानकारी दिँदै अब एमबिबीएस पूरा गर्न आर्थिक अभाव नहुनेमा ढुक्क भएको बताए ।

‘घरमै तयारीपछि तीन दिन काठमाडौँैमा साथीको डेरामा बसेर परीक्षा दिएर फर्किएका थिए’, उनले भने, ‘परीक्षामा सफल भएसँगै सहयोगी हातहरुले मेरो जीवनमै परिर्वतन ल्याइदिने भए ।’

सार्कीलाई आइतबार नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मान गरिएको थियो । सार्कीले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबीएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकामा ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको होे ।

‘भीमदत्तमा पनि नगरप्रमुखले सरकारी विद्यालय पढेर आएकाले एमबिबीएस अध्ययनमा पनि सहयोग गरौँला भन्नुभएको थियो’, उनले भने, ‘अब मनकारी हातहरुको सहयोगमै डा बन्ने योजना सफल हुनेमा आशा पलायो ।’

त्यसैगरी, सार्कीकी आमा मायादेवीले कष्टकर दैनिक जीवनबीच सानै कक्षादेखि ललितले सहयोगबाटै पढ्दै गएको बताईन । ‘लामो समय नगरपालिकाको गोवरियामा साहुको जग्गा अधियाँमा कमाएर घरको खर्च चलायौँ’, उनले भनिन, ‘निकै दुःख गरेर पालेको छोरोले अहिले जताततैबाट सहयोग पाइरहँदा सपनाजस्तै लागिरहेको छ । दिनभरि टहराभित्रै बसेर पढ्थ्यो, भित्रै बसेर पढेर एमबिबीएसमा नाम निकालेभन्दा हामीलाई त त्यसको मेलोमेसो नै मिलेन ।’

उनले छोरा ललितको काँधमा एमबिबीएस पढेर समाजमा सेवा गर्ने जिम्मेवारी थपिएकामा खुसी व्यक्त गरिन । 

‘सबै सहयोगीका कारण आज छोरो डाक्टर बन्ने भयो’, मायालदेवीले भनिन, ‘प्राप्त सहयोगलाई खेर फाल्ने दिने छैन भन्नेमा हामी परिवार ढुक्क छौँ ।’ रासस

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update