Odapalika - The Fourth Estate - चौथो अंग
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार 

काठमाडौँ । कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित गरेर स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ । 

सरकारले ५५ वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन शुरु गरेको हो ।

स्वास्थ्य परीक्षणका लागि लगत संकलन गर्न प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि रुकुमपश्चिम र पश्चिम सुर्खेतको चौकुनेमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइसकेको छ । शुक्रबार वीरेन्द्रनगरका स्वास्थ्यकर्र्मीलाई अभिमुखीकरण दिइएको निर्देशनालयले जनाएको छ ।

रुकुमपश्चिममा स्वास्थ्य परीक्षण सुरु भइसकेको छ भने चौकुने–१ मा ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण सुरु भएको निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजारमा भने १७ माघबाट परीक्षण सुरु गरिने उनले जानकारी दिए । निर्देशक खड्काले नसर्ने रोगको समयमा नै पहिचान गरी निदान तथा रोकथामका उपाय अपनाउँदा त्यसबाट हुनसक्ने जटिलतालाई न्यूनीकरण गर्न सकिने भएकाले ५५ वर्षमाथिका नागरिकका लागि अभियान सञ्चालन गरिएको बताए ।

अभियानमा ५५ वर्ष माथिका नागरिकको उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगको परीक्षण गरिने उनको भनाइ छ । 

सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले सबैभन्दा दुर्गम चौकुने–१ सुर्खेतका ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा अपेक्षा गरेको भन्दा बढी रोगी देखिएको बताए । उनका अनुसार अब सुगम वीरेन्द्रनगर–६ मा अभियान सञ्चालन गर्ने कार्यक्रम छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्तिप्रसाद सुवेदीले यो कार्यक्रमको सुरुवाती चरण भएकाले अहिले ५५ वर्षमाथिका नागरिकलाई मात्र अभियानमा समेटिएको बताए ।

अभियानमा सहभागी बिरामीलाई नसर्ने रोग सम्बन्धी केही औषधि निःशुल्क उपलब्ध गराउने योजना छ ।

    
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update