Odapalika - The Fourth Estate - चौथो अंग
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता 

काठमाडौंँ । तनहुँको भानु नगरपालिका खर तथा फुसका छाना विस्थापन अभियानमा जुटेको छ । ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत खरका छाना विस्थापन गरी जस्तापाताले छाउन लागिएको नगरपालिकाले जनाएको छ  । 

नगरपालिकामा रहेका ३३६ घरधुरीमध्ये २०० घरपरिवारले जस्तापाताले छाना छाउनका लागि पहिलो र दोस्रो किस्ता बुझिसकेका नगरपालिका योजना शाखाका कर्मचारी श्रवण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा ३० हजार र दोस्रो किस्ताबापत २० हजार रुपैयाँ भुक्तानीसमेत भइसकेको छ । 

तनहुँ निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्लेको पहलमा चालु आर्थिक वर्षमा १०० लाभग्राही थप गरिएको नगरपालिकाले जनाएको छ । थप भएका आवासका लागि बजेट निकासा गरिदिनका लागि नगरपालिका कार्यालयले आयोजना कार्यान्वयन इकाइ पोखरालाई पत्र पठाइएको नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए । 

खरका छाना मात्रै नभई विपन्न परिवारका जीर्ण जस्तापाता, पानी चुहिने र जस्ता फेर्न सक्ने क्षमता नभएका व्यक्तिलाई समेटिएकाले लाभग्राहीको संख्या बढेको त्रिपाठीले बताए ।

चालु आर्थिक वर्षभित्रमा नगरपालिकालाई खर र फुसको छानामुक्त बनाउने योजनाअनुरुप काम भइरहेको उनको भनाइ छ । 

नगरपालिकामा चालु आवमा ५३६ योजना रहेको नगरप्रमुख त्रिपाठीले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधारतर्फ वडागत ४७३, नगरस्तरीय ४९ र यसअघि ठेक्का आह्वान गरिएका १४ योजना यसवर्ष पूरा गर्ने लक्ष्य छ ।

उक्त योजनामध्ये हालसम्म २३७ को लागत अनुमान तयार भई ५३ योजना सम्झौता भएका छन् । केही योजनाको कार्य सम्पन्न भई भुक्तानीको चरणमा रहेको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update