Odapalika - The Fourth Estate - चौथो अंग
कृष्णपुरका वडाध्यक्षको पहलः किसानलाई निःशुल्क बीउ, भलमन्सालाई दराज 

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ११० जना किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । 

तरकारीखेती गर्नमा सघाउ पु¥याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत ३ लाख रुपैयाँ बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो । 

व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए । 

नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा चिनिन्छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । 

जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए । 

शुक्रवारमात्र वडाबाट ५०० किसानलाई २ लाख रुपैयाँ बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्क वितरण गरिएको उनको भनाइ छ । 

वडामा रहेका थारु गाउँका भलमन्साका लागि स्टील दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए ।

यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update