Odapalika - The Fourth Estate - चौथो अंग
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का 

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीलाई विवाह विदासमेत दिनेगरी नियमावली बनाएको छ । 

१० माघमा राजपत्रमा प्रकाशित प्रदेश निजामती सेवा नियमावलीमा कर्मचारीलाई १० दिनसम्म विवाह बिदा दिने प्रावधान समेटिएको हो । 

‘कुनै निजामती कर्मचारीको विवाह हुने भएमा त्यस्तो निजामती कर्मचारीले सात दिन विवाह बिदा पाउनेछ,’ निवयमावलीको नियम ९५ मा उल्लेख छ । 

नियमावलीका अनुसार यस्तो बिदा दाबी गर्ने कर्मचारीले विवाह भएको १५ दिन भित्रमा विवाह दर्ताको प्रमाणपत्र भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । 

विवाह विदा लिएर विवाह दर्ताको प्रमाणपत्र पेश नगरेकोे अवस्थामा भने कर्मचारीको बिदाको अवधि अन्य विदाबाट कट्टी गरिनेगरी नियमावलीमा व्यवस्था गरिएको छ । 

यसअघि गण्डकी प्रदेश सरकारले समेत अध्यादेशमार्फत कर्मचारीले ७ दिन विवाह बिदा दिने व्यवस्था गरिसकेको छ । 

‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ मार्फत कर्मचारीले विवाह विदा पाउने व्यवस्था गरिएको हो । 

कर्मचारीहरुले विवाहका लागि बिदा माग्ने गरेको र बिदा नदिएपनि उनीहरु कार्यालय आउन नसक्ने अवस्था भएकाले ऐनमा भएको विदा पाउने व्यवस्थालाई व्याख्या गर्दैै ७ दिन बिदा दिने प्रावधान राखिएको कणालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

पूर्व प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा कर्मचारीलाई विवाह विदा दिने व्यवस्था थियो ।  तर त्यसयता संघीय सरकारले निजामती कर्मचारीका लागि यस्तो बिदा दिने व्यवस्था गरेको थिएन । 

सरकारले संसदमा पेश गरेको संघीय निजामती सेवा विधेयकमा भने कर्मचारीलाइृ विवाह विदा दिने प्रस्ताव गरिएको छ । 

तर यस्तो विदा कति दिन दिने भनेर उल्लेख छैन । कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार विधेयकमा भएको यो विदासम्वन्धि व्यवस्था पारित भएर कानुन बनेमा नियमावलीमार्फत ७ दिन बिदा दिने प्रावधान राख्ने तयारी सरकारको छ । 

यस्तो छ कर्णाली सरकारले बनाएको नियमावली 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update