Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि  दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोतम खनालले गत पुस २४ गते राजीनामा दिएका थिए । उनको राजीनामा पछि रित्त रहेको अध्यक्षका लागि सरकारले दरखास्त आह्वान गरेको हो ।  खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार ३० वर्ष पुरा भई ६५ बर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । मन्त्रालयले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन दिनेगरी सूचना जारी गरेको हो । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको, तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने छन् ।

उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिने भएको छ । प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको विम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update