Odapalika - The Fourth Estate - चौथो अंग
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो ।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन् ।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करीब १ सय भन्दा बढी प्रतीक चिन्हहरुमध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो । तीन वटा प्रतीक चिन्हमध्ये न्यौपानेको प्रतीक चिन्हले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिन्ह छनोट भएको प्रवक्ता रानाले बताए ।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो ।

छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्ने र प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए । 
Butwal Logo1706419584.jpg

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update