Odapalika - The Fourth Estate - चौथो अंग
सुनवल नगरपालिको नीतिः कर्मचारीले छोराछोरी निजी स्कुलमा पढाउन नपाउने

काठमाडौँ । पश्चिम नवपलरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभाग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो । 

नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताईन । 

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।

पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख अर्यालले बताईन । यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुनेछ ।

सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो । उक्त नीति आगामी शैक्षिक सत्रबाट लागू हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभोग गर्ने तीन सय ६७ जना छन् । 

‘ज्यालादारी सहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र सर्शत अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्’, नगरप्रमुख अर्यालले भनिन ।

उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् । यसमध्ये तीन  विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन् । गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन भएका नगरप्रमुख अर्यालले जानकारी दिईन । 
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update