Odapalika - The Fourth Estate - चौथो अंग
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका

लमजुङ । लमजुङका २ वटा नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन् । 

मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत ऋणप्रवाह तथा ब्याजदर अनुदान सम्वन्धी सम्झौता गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए । शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गरी विपन्न बर्गलाई उद्यमशिलतासँग जोड्ने लक्ष्यका साथ बैंकसँग सम्झौता गरिएको उनको भनाइ छ । 

मेयर उद्यमशिलता कार्यक्रमका लागि चालु आर्थिक बर्ष २०८०/०८१ मा राइनास नगरपालिकाले ७० लाख रुपैयाँ र सुन्दरबजार नगरपालिकाले ५० लाख रुपैयाँ बजेट बिनियोजन समेत गरिसकेका छन् । 

उद्यमी बन्न चाहने युवालाई लक्षित गरेर शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेगरी नेपाल बैंकसँग सम्झौता गरिएको सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । सम्झौताअनुसार स्वरोजगार बन्न चाहने युवालाई नेपाल बैंक लिमिटेडले विना धितो ऋण उपलब्ध गराउनेछ । 

सुन्दरबजारले १ करोड ५० लाख वितरण गर्ने

नगरपालिकाभित्र रहेका बेरोजगार युवालाई उद्यमशीलतामा जोड दिने भन्दै नगरपालिकाल मेयर उद्यमशीलता कार्यक्रमकमार्फत लागि १ करोड ५० लाख रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । 

५० लाख रुपैयाँको कोष बनाइएकोमा बैंकले त्यसको तीन गुणा अर्थात १ करोड ५० लाख रुपैयाँ दिनेछ । बैंकले दिएको उक्त रकम नगरपालिकाले माग अनुसार २ लाख रुपैयाँका दरले वितरण गर्नेछ । 

यस्तै, राइनास नगरपालिकाले विनियोजन ७० लाख रकममा बैंकले उक्त रकमको ३ गुना २ करोड १० लाख रुपैयाँ बैंकले सहुलियतपूर्ण कर्जाका रुपमा ५ बर्षका लागि उपलब्ध गराउनेछ ।

नगरपालिकाले विनियोजित गरेको रकम उद्यमशिलता विकास कोषको नाममा वीउ पूँजीका रुपमा रहने छ । नगरपालिकामा प्रवाह गरिने सहूलियत पूर्ण कर्जाले रोजगारी नपाएर विदेशिनु पर्ने बाध्यतामा रहेका युवालाई  स्वदेशमै रोक्न र उद्यमशील बन्न मद्दत पुग्ने नेपाल बैंक लिमिटेडका प्रबन्धक कृष्णबहादुर अधिकारीले बताए । 

बैँकको तर्फबाट कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकाको तर्फ बाटनगर प्रमुख कृष्णप्रसाद कोइराला, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, राईनास नगरपालिकाको तर्फबाट नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update