Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । 

पनौतीको बजार क्षेत्रमा रहेको वडा नं ७ लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र संघीय अंग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । 

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । 

युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताए । 

‘नगरले व्यवस्थापकीय तयारी गरिरहेको छ, करिब दुई महिनामा उक्त तयारी सकेपछि सूचीकृतका लागि युनेस्को पठाउने तयारीमा छौं,’ नगर प्रमुख भण्डारी भन्छन् । 

भण्डारीका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्ने÷नसक्नेबारे स्थानीयस्तरमा छलफलको तयारी भइरहेको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य २०७९ सालमा अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए । 

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो । 

देशमा राजनीतिक उतारचढाव, सरकार परिवर्तन, कारोना सङ्क्रमणले पारेको प्रतिकुल प्रभावका कारण एक वर्षदेखि मन्त्रिपरिषदमा पनौतीको विषयले प्राथमिकता नपाउँदा विश्व सम्पदामा सूचीकृत हुन पाएको थिएन । 

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ ।

पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माणको काम धमाधम भइरहेको छ । नगरद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टेसञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम पनि अघि वढाइएको नगरप्रमुख भण्डारीले बताए । 

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्छ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । 

सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुने नीति छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । 

पुरातत्व विभागद्वारा पनौती नगरका एतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माणसमेत भइसकेको छ । 

पनौती नगरपालिका ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी र पौवा छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । राजा प्रताप मल्लले १२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्हरुको दाबी छ । 

३ वटा नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ । 

पुरातत्व विभागका अनुसार नेपालको ४ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यकाका काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर पर्छन ।

 चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज पछि पनैती पनि यो स्थानमा पुग्ने भएको छ ।  

नेपाल सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update