Odapalika - The Fourth Estate - चौथो अंग
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान

काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ’, उनले भने ।

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाको भनाई छ । 

‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन्’, उनले भने ।

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update