Odapalika - The Fourth Estate - चौथो अंग
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान

लमजुङ । कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले  दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ । 

दूध संकलन केन्द्रमार्फत् गाई, भैँसीको दूध बिक्री गर्ने नगरपालिकाभित्रका १ सय २५ जना किसानलाई नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा यो अनुदान दिएको हो ।

नगरपालिकाले गत आर्थिक बर्ष २०७९/०८० देखि कृषि र पशुपालनलाई व्यावसायिक बनाउनका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन शुरु गरेको थियो । 

नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले ७ लाख ७५ रुपैयाँ अनुदान उपलब्ध गराएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । 

गत आर्थिक वर्षमा नगरभित्रका १ सय २५ जना किसानहरुले उत्पादन गरेको २ लाख ३३ हजार ३ सय ५८ लिटर दूधको अनुदान रकम नगरपालिकाले स्थानीय जनविकास सहकारी संस्थामार्फत् किसानहरुलाई वितरण गरेको हो ।

व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरकोे प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए । 

राइनास नगरपालिका केन्द्र तीनपिप्लेमा रहेको दुग्ध चिस्यान तथा संकलन केन्द्र र वडा नं. ६ धमिलि कुवामा रहेको सुजल दूध डेरीमा किसानले उत्पादन गरेको दुध संकलन हुँदै आएको छ । 

नगरपालिका, जनविकास सहकारी र दूध संकलन केन्द्रसँग आवद्ध किसान तथा सम्वन्धित सस्थासँगै समन्वय तथा सम्झौता गरी अनुदानको कार्यक्रम अघि वढाइएको नगरपालिका प्रमुख खड्कबहादुर गुरुङले बताए । किसानले जति धेरै लिटर दूध बिक्री गर्छन् सोही अनुसारको अनुदान पाउने उनले बताए । 

दूध उत्पादन विक्रीका लागि अन्य जिल्लाबाट खरिद गरी गाई ल्याउने किसानका लागि नगरपालिकाले ढुवानी खर्च स्वरुप ५ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको थियो । गत वर्ष अन्य जिल्लाबाट १ सय १२ गाई किनेर ल्याएका किसानहरुलाई ५ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दूध उत्पादक किसानलाई मात्र नभई कोदो उत्पादनमा समेत २५ प्रतिशतसम्म नगद अनुदान दिँदैं आएको छ ।  नगरपालिकाले गत वर्ष पशुपालक किसानहरुलाई नै लक्षित गरी दशैँ तिहार हाटबजार सञ्चालन तथा खसीबोका बिक्रीमा प्रतिकिलो २० रुपैयाँ अनुदान वितरण गरेको थियो । दूध उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले चालु आर्थिक  बर्षमा १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update