Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा 

काठमाडौँ । नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ । आगामी २ वर्षभित्र पालिकाका मुख्य बजारलाई उज्यालोसँगै सीसी क्यामराको निगरानीमा राख्ने गरी काम सुरु गरिएको जनाइएको छ । 

नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृृत सुमन अधिकारीले नगर सभाको निर्णय अनुसार लाइट तथा सीसी क्यामरा जडानको काम सुरु गरिएको हो । 

‘नगर सभाले नै सडक बत्ती र क्यामरा जडानका लागि बजेट छुट्याएको छ, सुरुवाती चरणको काम गर्न नेपाल विद्युत प्राधिकरण र उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँग सम्झौताको तयारीमा छौँ’, उनले भने । 

उनका अनुसार नगर सभाले बत्ती जडानका लागि २ करोड रुपैयाँ र सीसी क्यामरा जडानका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

नगरपालिकाको ६५ प्रतिशत लगानी र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत लगानी रहने गरी स्मार्ट बत्ती जडानको सम्झौताको तयारी भइरहेको छ । 

नगरपालिकाभित्र रहेका मुख्य मुख्य बजारमा सुरुवाती चरणमा बत्ती जडान गरी आगामी २ वर्षभित्र पालिकाका सबै क्षेत्रमा जडान गरिसक्ने पालिकाको अभियान रहेको उनको भनाई छ । 

यस्तै, सुरुवाती चरणमा नागार्जुन नगरपालिकाको वडा नम्बर १ देखि ३ का मुख्य चोकमा सीसी क्यामरा जडान गर्नेगरी पालिकाले तयारी थालेको छ । 

‘सीसी क्यामराको सम्पूर्ण जिम्मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गर्दै आएको छ, हामीसँग त्यसका लागि आवश्यक जनशक्ति छैन्, प्रहरीसँगको समन्वयमा सम्पूर्ण जिम्मा दिन लागेका हौँ, आवश्यक सम्पूर्ण तयारी सकिएको छ, अब छिट्टै एमओयू गर्छौँ’, उनले भने । नेपाल विद्युत प्राधिकरण र प्रहरीसँग एकै समयमा जडानको सम्झौता गर्ने नगरपालिकाले जनाएको छ । 

प्राधिकरणले २५ देखि ४० प्रतिशत लागत साझेदारीमा स्थानीय तहहरुमा सडक बत्ती जडाको काम गर्दै आएको छ । 

गाउँपालिकामा ३० प्रतिशत, नगरपालिकामा ३५ प्रतिशत उपमहानगरपालिकामा ३० प्रतिशत र महानगरपालिकामा २५ प्रतिशत लागत साझेदारीमा प्राधिकरणले बत्ती जडान गरिरहेको छ । 

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत प्राधिकरणले साढे ११ हजारभन्दा बढी स्थानमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिसकिएको जनाएको छ । 

प्राधिकरणले ‘सहर उज्यालो अभियान’ अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट)  जडान गर्दै आएको हो । 

यसबाट सहरको सौन्दर्य बढ्ने हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको जनाएको छ । 

सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ भने बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महसुल सम्बन्धित पालिकाले तिर्नेछन् । 

के हो स्मार्ट स्ट्रिट लाइट ?

हाल जडान गर्न लागिएको यो लाइट संसारका मुख्य सहरहरूमा राखिएको आधुनिक लाइट हो । यो सोलारबाट पनि बल्छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन जोडेरै यो लाइट बाल्ने जनाएको छ । सोलार प्रविधि बढी खर्चिलो र उज्यालो कम दिने भएकाले प्राधिकरणकै लाइन प्रयोग गर्न लागिएको हो । 

यसलाई चलाउन प्राधिकरणले सर्भर निर्माण गरेको छ । सडकमा रहेका स्मार्ट बत्तीहरूको प्राधिकरणको सर्भरसँग सीधा जडान हुन्छ । जसअनुसार कहीँ कतै लाइट बिग्रियो भने प्राधिकरणका कर्मचारीले कम्प्युटरबाट थाहा पाउन सक्छन्् ।

एक पटक जडान गरेपछि उक्त लाइट १२ वर्षसम्म टिक्छ । सर्भरबाट पनि स्मार्ट लाइट अन र अफ गर्न सकिन्छ । तर, यो बत्ती अन अफ गर्न पनि पर्दैन । उज्यालो र अध्यारोसँगै बल्ने निभ्ने हुन्छ । यसले समय र जनशक्तिको बचत गर्छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update