Odapalika - The Fourth Estate - चौथो अंग
जनयुद्धमा जन्मेको स्कुलको कथाः गरिरहन्छ गाउँबेँसी, पढ्छन् ५३१ दलित विद्यार्थी 

काठमाडौँ । २०५२ सालदेखि तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहले गति लिदै थियो । र, माओवादीहरु ‘बुर्जुवा शिक्षा’को साटो ‘जनवादी शिक्षा’ लागू गर्न सके नेपालको कायापलट हुने निष्कर्षसहित त्यस्तै शिक्षाको आधार तयार पार्दै थिए ।

यसैको शिलशिलामा बागलुङको विकट क्षेत्र ढोरपाटनको नवीमा २०५४ सालमा ‘जनवादी शिक्षा’ पढाउन खुल्यो जनवादी विद्यालय । जसले विद्यालय खोल्यो, जसले पढाउन थाल्यो उनीहरु नै भूमिगत रुपमा ‘जनयुद्ध’ लडिरहेका थिए । र, विद्यार्थी भने भूमिगत थिएनन् ।

विश्वकर्माहरुको बाहुल्य रहेको नवीमा खुलेको जनवादी विद्यालय तत्कालिन नेकपा माओवादी सशस्त्र विद्रोहमा रहुन्जेल स्वभाविक रुपमा घुम्ती विद्यालयको रुपमा रह्यो । अझ भनौं, भूमिगत नै । र, माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा सो विद्यालयले सरकारबाट अनुमती पायो । विद्यालयको नाम रह्यो– श्री ढोरपाटन जनवादी आधारभूत विद्यालय ।

नाम र सरकारी अनुमती पाएपनि ढोरपाटन जनवादी आधारभूत विद्यालयका दुःखका दिन सकिएनन् । किनभने ठाउँ नै विकट थियो र मौसमले त्यस्तै धोका दिन्थ्यो । अहिले पनि सो विद्यालय घुम्ती रुपमा नै संचालनमा रहेको प्रधानाध्यापक देवहादुर सुनार बताउँछन् ।

‘जाडो बढेपछि नवीका सबै बासिन्दा आफ्ना बस्तुभाउ सहित बोबाङ झर्छन् । नवीमा मान्छे नै हुँदैनन् । त्यसैकारण हामी जाडो महिनाभर बोबाङमा नै विद्यालय संचालन गर्छाैं,’ प्रधानाध्यपक सुनारले वडापालिकासँग भने ।

जाडो र गर्मी महिनाको लागि सो विद्यालयले दुई ठाउँमा भवन बनाएको छ । नवीमा पनि विद्यालय भवन छ भने बोबाङमा पनि छ । बोबाङमा रहेको भवनको ४ वटा कोठा जिर्ण भएकोले अध्यापनको लागि समस्या भएको सुनारले बताए ।

कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ५३४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । र, यसमध्ये पनि जम्मा ३ जना जनजाति समुदायका विद्यार्थी छन् । बाँकी सबै दलित ।

‘अहिले अध्ययन गरिरहेका ५३४ जनामध्ये ३ जना जनजाति विद्यार्थी छन् । बाँकी ५३१ जना विश्वकर्मा समुदायका विद्यार्थी छन् । यो क्षेत्रमा बस्ने अधिकांश दलित नै भएकोले विद्यार्थी पनि सोही समुदायका हुने नै भए,’ प्रधानाध्यापक सुनारले भने ।

उनले अहिले सो विद्यालयको लागि शिक्षक संख्या कम भएको पनि बताए । अहिले ढोरपाटन जनवादी आधारभूत विद्यालयमा १२ जना शिक्षकले अध्यापन गराइरहेका छन् । 

यद्यपि, जाडो समयमा घुम्ती विद्यालय संचालन गर्ने वा विदा दिने सो विद्यालय मात्रै भने होइन । अत्यधिक चिसो बढेपछि ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गर्ने गरिएको छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय जाडोमा बन्द गरिएका छन् भने ढोरपाटन जनवादी आधारभूत विद्यालय बेँसी झारिएको हो ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय  आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । 

‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालयले जाडो विदा दिएका छन् । अब फागुन लागेपछि मात्रै खुल्छन् । यो क्षेत्रमा बर्षे विदा दिने चलन छैन । जाडोमा विदा दिइन्छ,’ सापकोटाले वडापालिकासँग भने ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update