Odapalika - The Fourth Estate - चौथो अंग
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले सोमबार छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव इञ्जिनियर हस्त बहादुर मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको जनही २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो, बिगोअनुसारको जरिमाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । 

‘ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८,६२,४५९रुपैयाँ ८४ पैसा बढी भुक्तानी गरेको देखिंदा निजहरु पिताम्बर सारु, महेश सिंह कठायत र हस्त बहादुर मल्लले जरिमाना र  बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अख्तियारले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

उनीहरुले  कामको बढी मूल्याङ्कन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार एवं भुक्तानीको लागि पेश गरेर २८ लाख ६२ हजार ४५९ भुक्तानी लिएको अख्तियारको दाबी छ । 

अखितयारले भुक्तानी लिउको रकमलाई भ्रष्टाचारको रकम मानेर सो रकम बराबरको बिगो र जरिमानासमेत असुल गर्न माग गर्दै मुद्दा दायर गरेको हो । 

सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र नगरपालिकाका इञ्जिनियर महेश सिंह कठायतविरुद्धसमेत सोही रकम बराबरको बिगो र जरिमाना माग गर्दै मुद्दा दायर भएको छ । 

 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update