Odapalika - The Fourth Estate - चौथो अंग
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव 

काभ्रे । बढी मेहनत गर्नु नपर्ने तर हरेक भूगोलमा फल्ने कोदो नेपालमा उपेक्षित बालीमा पर्छ । हिमालदेखि तराईसम्म हुने कोदो औषधीय गुणले भरिपूर्ण भएपनि महत्वमा नपर्दा यसकाे गुण ओझेलमा पर्दै गएको छ । 

संयुक्त राष्ट्रसंघले नै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष मनाउने घोषणा गरेपछि नेपाल सरकारले पनि सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेटसम्म पनि यसको बारेमा व्यवस्था गरेको छ । कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा बिभिन्न कार्य पनि सरकारले थालेको छ । 

कोदो उत्पादनमा नेपाल विश्वको १३औं स्थानमा पर्छ । पछिल्लो तथ्यांक अुनसार नेपालमा सन् २०२० मा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो । तर पनि नेपाल अझै पनि कोदो आयात गर्ने मुलुकमा पर्छ । 

कोदोको बारेमा जनचेतना जगाउन ‘कोदोको बहार: दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नाराका साथ सोमबार काभ्रेको मण्डन देउपुर नगरपालिकामा तेस्रो कोदो दिवस मनाइएको छ । 

kodo (1)1690877598.JPG

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएओ), केयर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा मनाइएको कोदो दिवसमा कोदोको महिमाबारे प्रकाश पारिएको थियो । 

कार्यक्रममा एफएओका प्रतिनिधि अर्जुन थापा कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा एफएओले प्राविधिक सहयोग गर्दै आएको बताए । उनले कोदोजन्य बालीको विकासका लागि आफुहरु तीन तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । 

यस्तै कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम जारी रहेको बताए । उनले यस वर्ष १ सय ६७ गाउँपालिकामा कोदोजन्य बाली प्रवद्र्धनमा लागेको जानकारी पनि दिए । 

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख समेत रहेका श्रेष्ठले कोदो र फापर जस्ता खाद्यान्नको अभावमा महिलाहरुले आइरन चक्की खानु पर्ने अवस्था आएको बताए । उनले मोबाइलमा अल्मलिएका बालबालिकालाई बजारमा पाउने चाउमिन भन्दा कोदो र फापरबाट बनाइएका खिर, विस्कुट, पिज्जा खुवाउन सकिए उनीहरुको भविष्य स्वास्थ्यको दृष्टिकोणले पनि सुरक्षित हुने बताए । 

kodo (3)1690877562.JPG

काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर मगरले सबैले हेला गर्ने वस्तु कोदो जहाँ पनि फल्ने र स्वास्थ्यका लागि अति शक्तिबद्र्धक भएको बुझाउन नसकिएको बताए । उनले विज्ञता हासिल गरेको मानिस मन्त्री नहुँदा मुलुक वर्वाद भएको चर्चा गर्दै किसानको हित गर्ने सरकार अहिलेसम्म यो देशमा नबनेको दुखेसो पोखे । 

नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ । 

कोदोबाट बनेको घरेलु मदिरा ‘तीनपाने’ नामले प्रख्यात छ । तर कोदोको महत्व नबुझनेहरु भने एकले अर्कालाई गाली गर्दा पनि ‘कोदे’ भन्ने चलन समाजमा व्याप्त छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update