Odapalika - The Fourth Estate - चौथो अंग
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ

काठमाडौँ । व्यास नगरपालिका–१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उनी दिनभर त्यही बिताउँछन् ।

‘उमेरका कारण घरमा बसेर काम गर्न पनि सकिदैन्, खाना खाएर निस्केपछि साथीभाइसँगको भलाकुसारीमा समय बितेको पत्तै हुदैन, दिन बिताउन र धर्मबारेमा ज्ञान लिन सजिलो भएको छ’, उनले भने ।

दाहाल जस्तै रामचन्द्र पन्थ पनि मोहरियाटारबाट करिब आधा घण्टा बाटो हिँडेरै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुुग्छन्् । दैनिक हिँडेर जानेआउने गर्दा शरीरलाई कसरत पनि भइरहेको उनको भनाइ छ । ‘जीवनमा धेरै दुःख कष्ट गरेर सम्पत्ति जमाइयो, अब आराम गर्ने समय हो’, उनले भने, ‘घरपरिवारबाट पनि सकारात्मक सहयोग र सदभाव प्राप्त भएको छ ।’

वडाका विभिन्न टोल बस्तीबाट दिवा सेवा केन्द्रमा दिनमा ३५÷४० जनासम्म ज्येष्ठ नागरिक जमघट हुने गर्दछन् । आफूले विगतमा गरेका दुःख सुखका गफगाफका साथै केन्द्रमा भजनकीर्तन र धार्मिक प्रवचन गरेर मनलाई हलुका बनाउने काम भइरहेको केन्द्रका अध्यक्ष गणेश जिसीले बताए ।

‘धर्मकर्म गर्ने वातावरण सिर्जना गर्दै जीवनशैली सुधारतर्फ ज्येष्ठ नागरिक लाग्ने गरेका छन’, ‘केन्द्रमा सिकेको धार्मिक ज्ञान गुनका कुरा आफ्ना परिवारमा सिकाउने गरेको छु’,उनले भने । सुरुमा सोही वडाको चारकुनेको चौतारो नजिक खरले छाएको अस्थायी टहरामा ज्येष्ठ नागरिक बस्ने गरेपनि अहिले सोही स्थान नजिकै आफ्नै पक्की भवन निर्माण गरिएको छ ।  

पक्की भवन नहुँदा हावाहुरी, पानी पर्दाको समयमा धेरै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै तीन वर्षको अवधिमा पक्की भवन निर्माण गर्न सफल भएको उनले जानकारी दिए । गण्डकी प्रदेश सरकारबाट पटक–पटक गरी २१ लाख रुपैयाँ, वडा कार्यालयबाट एक लाख ५० हजार रुपैयाँ र व्यास नगरपालिकाबाट ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । 

उक्त बजेटबाट करिब तीन आना सार्वजनिक जग्गामा दुई ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि दिवाको समयमा चिया खाजाका लागि गतवर्ष सङ्घीय सरकारबाट दुई लाख र गण्डकी प्रदेश सरकारबाट पचासी हजार बजेट निकासा गरी सहयोग गरेको उनले बताए ।

दिवा खाजाका लागि बजेट सहयोग गरिदिन व्यास नगरपालिका कार्यालयमा निवेदन पेश गरिएको र सकारात्मक रुपमा लिइएकाले सहयोग पाउने आशामा रहेको केन्द्रका कोषाध्यक्ष रामदत्त तिवारीले जानकारी दिए । उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।  

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update