Odapalika - The Fourth Estate - चौथो अंग
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता

काठमाडौँ । आफूलाई किसानमैत्री नगरपालिकाको रुपमा चिनाइरहेको पनौती नगरपालिकाले गत आर्थिक वर्षमा ८ सयभन्दा बढी भैसी व्याउँदा ‘सुत्केरी भत्ता’ उपलब्ध गराएको छ ।

सो नगरपालिकाभित्र व्याएका भैसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको कार्यक्रम अनुसार यसरी भत्ता वितरण गरिएको हो । पनौती नगरपालिका क्षेत्रभरीका जनताको प्रमुख पेशा व्यवसाय कृषि तथा पशुपालन भएकोले उनीहरुलाई भैसी पालन गरी दुग्धजन्य पदार्थको उत्पादनमा प्रोत्साहन गर्न भत्ता वितरण गर्ने गरिएको मेयर रामशरण भण्डारीले जानकारी दिए ।

‘पनौती नगरपालिका कृषि तथा पशुपालन व्यवसायमा अग्रस्थानमा रहेको नगरपालिका हो । किसानलाई प्रोत्साहित गर्न विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गरिएको छ । त्यसैमध्ये भैसीलाई सुत्केरी भत्ता दिने एउटा कार्यक्रम हो । यो कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको पाइएको छ,’ मेयर भण्डारीले वडापालिकासँग भने ।

नगरपालिकाले पहिलो बेत व्याएको भैसीलाई प्रतिभैसी ५ हजार रुपैयाँ र दोस्रो बेतदेखि प्रतिभैसी २ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने गरीको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए । सो नगरपालिकाभित्र गत आर्थिक वर्षमा ८ सय ११ वटा भैसी व्याएको उनको भनाइ छ ।

‘गत आर्थिक वर्षमा ८११ वटा भैसी व्याएका विवरण प्राप्त भएको थियो । ती भैसीमध्ये पहिलो बेद व्याएकालाई ५ हजार र दोस्रो बेतदेखिकालाई २ हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिदा २४ लाख ७८ हजार रुपैयाँ वितरण गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले वडापालिकासँग भने ।

नगरपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्ष पनि निरन्तर गरेको छ । चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २७५ वटा भैसी व्याएका विवरण नगरपालिकाले प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा व्याएका यी भैसीलाई सुत्केरी भत्ता दिदा ८ लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update