Odapalika - The Fourth Estate - चौथो अंग
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण 

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले कृषकलाई सम्मान गरेका छन् । 

कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ ।

संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार ५०० र २ हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः २ हजार ५००, २ हजार र १ हजार ५०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए ।

प्रदर्शनीमा १२० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो । 

पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गरे ।

प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । 

प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । १० स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् ।

एकीकृत घुम्ती शिविर सञ्चालन 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार ४२३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । 

चालु आर्थिक २०८०/ ०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । 

शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले ९२२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत ५०१ जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

शिविरमा वडा नं १ याम्खाका ८५, वडा नं २ डाँडागाउँका ४५, वडा नं ३ छोरम्बुका १६, ४ बतासेका ११०, वडा नं ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं ६ छितापोखरीका ६८ र वडा नं ७ टेम्माका १०१ जनाको स्वास्थ्य जाँच गरिएको छ  । 

यही माघ ७ गतेदेखि सञ्चालन भएको शिविरमा नेबुलाइजेसन, मधुमेह, उच्च रक्तचाप जाँच, अक्सिजनको मात्रा, नाडीको गति जाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । 

शिविरमार्फत ९२२ जनालाई ७ वटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update