Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व 

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् ।

सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म मंगलबार आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।

४४ किलोमिटर दूरीको म्याराथन ३ घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जित्दा प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरे । 

प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय, नेपाली सेनाका करण रावत तृतीय भए । 

त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भए। 

अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई ८५ हजार ८०, द्वितीय हुनेलाई ६५ हजार ८०, तृतीय हुनेलाई ५५ हजार ८० र सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेँसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।  गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update