Odapalika - The Fourth Estate - चौथो अंग
तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ? 

राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो । 

२०६५ साल साउनमा नेपालमा प्रथम राष्ट्रपति निर्वाचन भएपछि यस प्रतियोगिताको नाम राष्ट्रपति रनिङ शिल्ड रहन गयो । त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुवात २०६६ साल देखि भएको हो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरू बीच आआफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरू पर्दछन् । 

यो प्रतियोगिता स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तरमा संचालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् ।

प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० बनाई लागु गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै बिजयीलाई रनिङ शिल्डको रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर लगातार ३ वर्ष सम्म एउटै विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेश शिल्ड जितेमा सो शिल्ड उनीहरूले सँधैका लागि राख्न पाउने व्यवस्था छ । 

आगामी वर्षको प्रतियोगिताको लागि आयोजकले नयाँ शिल्ड बनाउनु पर्नेछ । प्रतियोगिता संचालन गर्न खेलकुद पुर्वाधार पर्याप्त भएको विद्यालय, जिल्ला र प्रदेशमा आलोपालो गर्नुपर्दछ । प्रत्येक वर्षको लागि खेलको प्रतीक चिन्ह (मस्कट) केन्द्रीय समितिले सिफारिस गरे बमोजिम हुन्छ ।

स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ । 

यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ ।

प्रतियोगिताको आयोजकले प्रत्येक इभेन्ट्सका बिजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र उपलब्ध गराउनु पर्छ । संचालित प्रतियोगितामा प्रथम हुने विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेशलाई शिल्ड सहित नगद, ट्रफी र प्रमाण पत्र उपलब्ध गराउनु पर्छ ।

द्वितीय र तृतीय हुनेलाई ट्रफी, नगद र प्रमाणपत्र उपलब्ध गराउनु पर्दछ । सम्बन्धित स्तरमा प्रतियोगिता सम्पन्न भएपछि ७ दिन भित्र आयोजकले खेल नतिजा सहितको प्रतिवेदन माथिल्लो निकायमा अनिवार्य पठाउनु पर्ने व्यवस्था छ भने यसको अनिवार्य लेखा परीक्षण गराउनु पर्छ ।

जिल्ला स्तरीय प्रतियोगिताको एथ्लेटिक्स प्रतियोगितामा बिजयी खेलाडीहरूलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउनु पर्नेछ भने भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरूको छनौट भने उत्कृष्ट खेलाडीहरू मध्येबाट खेल प्राविधिकको परामर्शमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिले सिफारिस गरे बमोजिम हुन्छ ।

यो प्रतियोगिता खेलकुद विकास समितिहरूको अनुकुलता हेरेर मात्रै नभई निर्देशिकाले तोकेको समयभित्र सम्पन्न गरिसक्नु पर्छ । निर्देशिका अनुसार हिमाली जिल्लाहरूमा चैत्र महिना भित्र सम्पन्न गरिसक्नु पर्छ भने पहाडी, तराई तथा उपत्यकामा ढिलोमा पनि फागुन महिना भित्र सम्पन्न गरी प्रदेश स्तर र केन्द्र स्तरमा वैशाख महिनामा सम्पन्न गरिसक्नु पर्छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भएका सम्पूर्ण खेल र विधा तथा प्रत्येक इभेन्ट्सहरूको व्यक्तिगत तथा सामूहिक प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकका साथमा प्रमाणपत्र दिइन्छ । 

निर्णयमा चित्त नबुझेमा प्रतियोगीले संचालक र आयोजक समक्ष तोकिएको ढाँचामा उजुरी गर्न सक्नेछन् । विद्यालय स्तरको प्रतियोगिताबाटै केन्द्र स्तरसम्मका लागि खेलाडी छनौट हुने भएकोले स्थानीय तह स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूले जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ ।

माथिल्लो तहको प्रतियोगितामा खेल्नका लागि छनौट भएका खेलाडीको फारामसँगै जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी समेत पेश गर्नुपर्छ । 

सबै तहमा खेल संचालन हुने अवधि भरका लागि सबै खेलाडीहरूको सामूहिक बीमाको व्यवस्था आयोजकले गर्नुपर्ने व्यवस्था छ ।

स्रोतः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका,२०७०
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update