Odapalika - The Fourth Estate - चौथो अंग
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले मदिरा उत्पादन गर्न पालिकासँग अनुमति लिनुपर्ने नियम बनाएको छ । 

१४औं नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो । 

उक्त विधेयकमा घरेलु प्रयोजनका लागि उत्पादन गरिएको मदिरा बिक्री वितरणमा समेत रोक लगाइने उल्लेख छ । 

साँझ ५ बजेअघि र राति १० बजेपछि मदिरा सेवन गर्नमा रोक लगाइनेछ । ऐनअनुसार होलसेल विक्रेताले बिहान १० देखि राति १० बजेसम्म, खुद्रा विक्रेताले दिनको ३ बजेदेखि राति १० बजेसम्म र बिर्को खोली विक्री गर्ने विक्रेताले साँझ ५ बजेदेखि राति १० बजेसम्ममात्रै मदिरा बेच्न पाउनेछन् । 

तर, कात्तिकदेखि माघसम्म साँझ ५ देखि राति ९ बजेसम्म र फागुनदेखि असोजसम्म भने साँझ ५ देखि राति १० बजेसम्मबाहेक मदिरा उपभोग गर्न नपाइने भएको छ ।

पारित ऐनअनुसार नगरले तोकेका ‘पर्यटकीयस्थल’ बाहेक अन्य ठाउँमा पनि तोकिएको समयभित्र मात्रै मदिरा पिउन र यसको कारोबार गर्न पाइने छ । 

नगरले बालबालिका, गर्भवती र सुत्केरीलाई मदिरा बेच्न, वितरण गर्न प्रतिबन्ध गरेको छ । यस्तै, कार्यालय पोसाकमा रहेका कर्मचारी, पोसाकमा रहेका विद्यार्थी र शिक्षकले भने कुनैपनि समयमा मदिरा उपभोग गर्न पाउने छैनन् । सार्वजनिक पद धारण गरेका व्यक्ति जो–कोहीले पनि यसरी मदिरा र सुर्तीजन्य वस्तु प्रयोग गर्न पाउने छैनन् ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update