Odapalika - The Fourth Estate - चौथो अंग
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज भएको खेलमा बेलकोटगढी नगरपालिकासँग एक÷एक गोलको बराबरीमा रोकिए पनि शिवपुरी सेमिफाइनलमा प्रवेश गरेको हो । नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा शिवपुरी गाउँपालिकाले अग्रता लिएको थियो । 

शिवपुरीका लागि खेलको २१औं मिनेटमा आलिग तामाङले गोल गरे । तर खेल सकिन २ मिनेट बाँकी रहँदा बेलकोटगढीका विवश लामाले बराबरी गोल फर्काए ।

समूह बी मा रहेको शिवपुरी एक जित र एक बराबरी खेल्दै ४ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सेमिफाइनलमा शिवपुरीको भेट समूह ए, बि र सि को उत्कृष्ट उपविजेता टोलीसँग हुनेछ । 

त्यसैगरी आज भएको समूह सीको अन्तिम खेलमा विदुर नगरपालिकाले तादी गाउँपालिकालाई २–१ गोलले पराजित गरेको छ । यो जितसँगै विदुरको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । विदुरका लागि दुवै गोल आकाश रानामगरले गरे भने तादीका लागि एक गोल सुमन तामाङले गरेका थिए ।

विदुर नगरपालिका मुख्य आयोजक र नुवाकोट जिल्ला फुटबल संघ आयोजक रहेको यो प्रतियोगिताको विजयी टोलीले ४ लाख ४ हजार ४४४ रुपैयाँ र उपविजेता टोलीले २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update