Odapalika - The Fourth Estate - चौथो अंग
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी 

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तर्राट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । 

कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यसमेतलाई आधार मानी ‘ए’ ग्रेडको ‘पार्चमेन्ट’ कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

बोर्डले भने सोही कफीको मूल्यप्रति केजी ५०० रुपैयाँ निर्धारण गरेको छ । गत मङ्सिर १ गतेदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ । बोर्डको समर्थन मूल्यभन्दा प्रतिकिलो १०० बढी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । 

यसअघि थुलुङ दूधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले कृषकको कफी प्रतिकिलो ५०० रुपैयाँ सङ्कलन गर्दै आएको थियो । 

थुलुङ दूधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए । 

नमुना परीक्षणका क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि  कृषकलाई थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ ।    

    
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update