Odapalika - The Fourth Estate - चौथो अंग
टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका

काठमाडौँ । ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले टोल टोलमा पुगेर अपाङ्गता भएका व्यक्तिको खोजी गर्ने भएको छ । पालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरेर अपाङ्गता भएका व्यक्तिको खोजी गर्न लागिएको जनाएको छ । 

पालिकाभित्र अपाङ्गता भएका सबै व्यक्तिहरुको पहिचान हुन बाँकी रहेको र छुट भएका अपाङ्गता भएका व्यक्तिहरुको खोजी तथा पहिचान गरी राज्यबाट पाउने सेवा सुविधामा वृद्धि गराउने योजना भएको भन्दै छुट भएका अपाङ्गता व्यक्तिको खोजी गर्न लागिएको पालिकाका अधिकृत रणजित आङबुहाङ लिम्बुले जानकारी दिए । 

उनका अनुसार पालिकाको तथ्यांकमा ४९० जना अपङ्गता भएका व्यक्ति रहेको तर, राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा पालिकामा ५७४ जना रहेपछि छुट भएका अपाङ्गता व्यक्तिको पहिचानका लागि खोजी गर्न लागिएको हो ।

जनगणना र पालिकामा भएको तथ्यांकमा ८४ जना अपाङ्गता भएका व्यक्तिहरु फरक परेपछि उनीहरुको अवस्थाको बारेमा जानकारी लिन टोल टोलमा पुगेर खोजी गर्न लागिएको उनको भनाइ छ । 

अपाङ्गता भएका व्यक्तिको खोजी गर्नका लागि पालिकाले करुणा फाउण्डेशनसँग समन्वय गरेको छ । उक्त फाउण्डेशनका अधिकारीहरु पालिकासँगको समन्वयमा छुट भएका व्यक्तिहरुको खोजीका लागि प्रत्येक वडामा रहेका टोल विकास संस्था, टोलमा रहेका मुख्य व्यक्तिसँगको बैठक र आवश्यकता अनुसार घरघरमा भ्रमण गर्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update