Odapalika - The Fourth Estate - चौथो अंग
खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालेको छ ।  ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालेको महानगरले सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाएर त्यसमाथि प्राकृतिक दुवो रोपिने जनाएको छ । 

महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ भने व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ ।

यसलाई मर्निङ् वाक गर्न सकिने, बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ बनाउने महानगरको योजना छ । महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार उवडखावड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजनामा महानगर छ । 

‘हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ,’ महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘गएको ३ दिनदेखि काम भइरहेको छ ।’ 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update