Odapalika - The Fourth Estate - चौथो अंग
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि... 

खोटङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफन्तलाई मात्र वितरण गरेका छन् ।

नगर प्रमुख विमला राईले ३ साउनमा नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याएको २२ थान सोलार प्यानल कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिई टोलका आफन्तलाई मात्र वितरण गरेका छन् । 

वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरे । 

‘नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ,’ वडाध्यक्ष भन्छन् । 

च्यास्मिटारको साविक ९ वटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको ३ वटा वडामा मात्र आफूखुसी वितरण गरेका हुन् । 

साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा ५ र वडा नं ४ दाल्फुमा २ वटा वितरण गरेको पाइएको हो । 

विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताए ।

‘सोलार प्यानल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै मेयरसावका कान्छा भाइ रोजचन्द्रलगायतका साथीहरू भेला भएर बसेका रहेछन्न् । गाडीबाट झार्न पाई डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाई घर फर्किएँ,’ वडाध्यक्ष राईले भने । 

रोजचन्द्रले भने नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानल आवश्यकताका आधारमा वडा कार्यालयका कर्मचारीलाई नै रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको दाबी गरेका छन् । 

‘यसअघिका कार्यक्रममा वडाध्यक्षज्यूबाट धेरै अनियमितता भएका छन् । सोलार प्यानल वितरणमा प्रक्रिया मिचियो होला, यसमा मेरो कमजोरी भयो भने, स्वीकार गर्न म तयार छु, तर, पाउनुपर्ने व्यक्तिलाई उनीहरूको सबै विवरण राखेर वितरण गरिएको छ । वडाध्यक्षज्यूले यसअघि गर्नुभएको जस्तो अनियमितता भएको छैन,’ उनले भने । 

हलेसी तुवाचुङ नगरपालिकाका विपन्न परिवारका लागि कोशी प्रदेशका तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’को पालामा सोलार प्यानल उपलब्ध गराउने गरी योजना परेको थियो । 

केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुगेका ठाउँमा बसोबास गर्ने विपन्न परिवारका लागि २० किलोवाट क्षमताको सोलार प्यानल उपलब्ध गराएर उज्यालो दिने गरी उक्त नगरपालिकाका ११ वटै वडाका लागि योजना पारिएको हो ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update