Odapalika - The Fourth Estate - चौथो अंग
हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, रोकिए सवारीसाधन
फाइल फोटो

काठमाडौँ । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।  

मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन । 

आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ ।  

हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ । हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update