Odapalika - The Fourth Estate - चौथो अंग
यती एयरलाइन्सले थप्यो २ जहाज, थप ३ वटा ल्याउने तयारी

काठमाडौँ । यती एयरलाइन्सले थप दुुईथान विमान थप गरेको छ । कम्पनीले ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाज बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । 

थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन (एन– एओएफ र एन–एओएच) पाएको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । 

उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने निति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बताए ।

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटाकाले आन्तरिक हवाईसेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने निति लिएको बताए । उनले जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको समेत बताए । 

थप ३ जहाज खरिद गर्ने

कम्पनीले सन् २०२४ भित्र थप ३ थान जहाज ल्याउने योजना रहेको बताएको छ । थप जहाज ल्याएर १० वटा जहाजबाट आन्तरिक उडान गर्ने लक्ष्य रहेको र यसले गुमेको बजारहिस्सा कायम गदै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने सीईओ सापकोटाले बताए । 

एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले  उडानको क्रममा आरामदायी हुनेछ । 

यती एयरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ । 

हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा  प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update