Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक जग्गा संरक्षणमा टोखा नगरपालिका, हटाउँदैछ बनाइएका संरचना

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ ।

टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्न वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।

उक्त समितिले आज टोखा नगरपालिका–११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विष्णुमति करिडोरमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले यस वरपर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनले नगरपालिकाभित्रका सबै सार्वजनिक जग्गाको खोजी गरिने बताए ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पालिकाले काम गरिरहेको बताईन । टोखामा एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा रहेको भन्दै यसलाई संरक्षणको योजना अनुसार काम थालिएको उल्लेख गरिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाइएको बताए । ‘टोखाभित्र अतिक्रमण गरिएका जग्गा खाली गराउने काम तीव्र गतिमा भइरहेको छ’, उनले भने ।

नगरपालिकाले आजै टोखा–८ बानियाँटारस्थित फ्लोसेन्ट स्कुल आसपासमा अवैधरुपमा बनाइएका संरचना हटाउने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update