Odapalika - The Fourth Estate - चौथो अंग
डोटीका अधिकांश वडा सचिवविहीन

डोटी ।  जिल्लाका वडा सचिवविहीन भएका छन् । ६५ मध्ये ३३ मा सचिव छैनन् । ती वडामा दरबन्दी रिक्त भएको हो । जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ ।

६ वटा वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । ‘सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन्,’ भट्टले भने । 
जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वटा वडामा पनि सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा-५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।
त्यस्तै, ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेको भनाइ छ । यता, बडिकेदार गाउँपालिकाका ३ वटा वडा पनि सचिवविहीन छन् । वडा-१, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । 
यस्तै, ६ वटा वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा सचिव छैनन् । वडा-३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए । वडा सचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनले बताए । 
सचिवको पद रिक्त हुने स्थानीय तहमा बोगटान फुड्सिल गाउँपालिका पनि छ । यस पालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वटा वडा रहेको यस गाउँपालिकाको ३ नम्बर वडामा मात्र सचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए । वडा सचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीबाट काम चलाइएको छ । 
यता, ७ वटा वडा रहेको केआईसिंह गाउँपालिकामा पनि २ वडा सचिवविहीन छन् । वडा १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले बताए । पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन् । ७ वडा रहेको यस पालिकाका ३ वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा ३ र ७ मा १ जनाले हेरिरहेका छन् भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।
यस्तै, ७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वडा सचिवविहीन छन् । वडा ३, ५ र ७ मा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । लोकसेवालाई रिक्त दरबन्दी पूर्तिका लागि सूचना नदिँदा कर्मचारी अपुग भएको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हिरालाल चौधरीले बताए ।

प्रदेशका ८८ स्थानीय तहमध्ये ४० स्थानीय तहले मात्रै आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भए/नभएको आफूहरूलाई थाहा नहुने उनले बताए । ‘हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ,’ उनले भने । जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसार कर्मचारी नभएको गुनासो आइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update