Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जनाउँदै उच्च सतर्ककता अपनाउन आग्रह गरेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको समेत सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट हुनसक्ने विभागले जनाएको छ । त्यसैले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update