Odapalika - The Fourth Estate - चौथो अंग
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ । 

अहिलेसम्म योगदान गर्ने श्रमिकका श्रीमान तथा श्रीमतीले स्वास्थ्य सुविधा पाउँदै आएकोमा अब उनीहरुका छोराछोरीले पनि सुविधा पाउने गरी दायरा विस्तार गर्न लागिएको छ । 

कोषको कार्यविधिमा संशोधन गरेर कोषमा योगदान गर्ने श्रमिकका छोराछोरीले पनि स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोषको छैटौं स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा पनि सो कुराको जानकारी दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले नै कोषले प्रदान गर्ने स्वास्थ्य सुविधामा श्रमिकका छोराछोरीलाई पनि आवद्ध गराउने बताउनु भएको थियो । यसका लागि कोषको कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ । कोषको कार्यविधि संशोधनको अन्तिम चरणमा छ । त्यसपछि योगदानकर्ताका छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउँछन्,’ प्रवक्ता पन्थीले वडापालिकासँग भने । 

उनले कोषको कार्यविधि छिट्टै संशोधन हुने पनि जानकारी दिए । कोषले पछिल्लो समय स्थानीय सरकारसँग सम्झौता गरी अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान नै संचालन गरेको छ । स

बै नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने अभियानका साथ स्थानीय सरकारसँग सम्झौता गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आवद्ध गराउने अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारी बताउँछन् । 

अहिले कार्यान्वयनमा रहेको श्रम ऐनअनुसार औपचारिक क्षेत्रका श्रमिक अनिवार्य रुपमा कोषमा आवद्ध हुनुपर्छ । बैदेशिक रोजगारीमा जाने र स्वरोजगार व्यक्ति पनि कोषमा आवद्ध हुन सक्छन् । अहिलेसम्म कानुनी रुपमा समेट्न छुटेका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय सरकारहरुसँग सम्झौता गरी उनीहरुलाई पनि समेट्ने अभियान कोषले संचालन गरिरहेको छ । 

कोषले यसअघि नै ७ स्थानीय तहसँग सम्झौता गरी सो स्थानीय तहभित्रका अनौचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आवद्ध गराएको थियो । यस्तै, माघ पहिलो साता कोषले गण्डकी प्रदेश अन्तरगतका ३२ स्थानीय तहसँग एकैपटक सम्झौता गरी कोषका आवद्ध हुने श्रमिकको संख्या उल्लेख्य रुपमा बढाउने काम गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update