Odapalika - The Fourth Estate - चौथो अंग
साढे ७ करोडमा बन्यो रौतामाई गाउँपालिकाको भवन, जनताले सर्वसुलभ सेवा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गरेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उनले प्रशासकीय भवन समुद्घाटन गरेका हुन् । उक्त भवन सात करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए ।

शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गरे ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पारे ।

‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ’, उनले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update