Odapalika - The Fourth Estate - चौथो अंग
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारले धरहरा (उनकै भाषामा सेतो टावर)मा पार्किङ रोक्न पत्राचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

उनले झण्डै ३ वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरिसकेको धरहरा क्षेत्रमा पार्किङ रोक्न पत्राचार गरेको भन्दै उद्घाटन भइसकेको भनिएको धरहरामा काम नसकिएको भन्दै गरिएको पत्राचारप्रति असन्तुष्टि जनाएका हुन् । 

सामाजिक संजालमार्फत उनले उद्घाटन नै भइसकेको धरहरामा के निर्माण भइरहेको हो भन्दै व्यङ्ग्यात्मक शैलीमा काठमाडौँको सम्पदामा खेलवाड नगर्न भनेका छन् । 

यस्तो छ उनको असन्तुष्टि 

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली  टावर भन्थे ।’

तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

उदघाटन गरेको २ बर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ । अन्त्यमा, सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क संचालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ  । 

अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाईं गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update