Odapalika - The Fourth Estate - चौथो अंग
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस्

काठमाडौँ । डेरी व्यवसायीहरुले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

निजी डेरी सञ्चालकको संस्था नेपाल डेरी एसोसिएसनले खेलकुदमन्त्री, सचिव, राष्ट्रिय खेलकुद परिषद््का सदस्य सचिव, सातै प्रदेश खेलकुद परिषद्का सदस्य,  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाका प्रमुखहरुलाई पत्र पठाउँदै खेलाडीलाई अनिवार्य दूग्धजन्य पदार्थको सेवन गर्नका लागि आग्रह गरेको हो । 

‘दुध एक पूर्ण पौष्टिक आहार हो । बालकदेखि वृद्धसम्म जस्तोसुकै अवस्थामा पनि सहजै सेवन गर्न मिल्ने अत्यन्तै पौष्टिक तत्वले भरिएको पदार्थ हो भन्ने कुरा तपाईं हामी सबैलाई थाहा नै भएको विषय हो । त्यसैले सबै खेलाडीहरुलाई अनिवार्य रुपमा उनीहरुले खाने खानामा दुध तथा दुग्ध पदार्थ समाबेश गराइदिनुहुन अनुरोध गरिन्छ’ एसोसिएसनले पठाएको पत्रमा भनिएको छ । 

पछिल्लो समय डेरी व्यवसायीहरुले ठूलो समस्या भोगेको भन्दै उनीहरुले सो माग गरिएको जनाएको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योगीसँग ५ अर्ब बढीको दुुग्धजन्य पदार्थको स्टक हुँदा किसानलाई समयमै भुक्तानी दिन समस्या भएको बताए । उनले गत वर्षहरुमा यो सिजनमा बजारमा अत्यधिक माग हुुनेगरेकोमा अहिले बिक्री नभएर ठूलो संस्यामा स्टक बसेको बताए । 

‘उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि अनेकौं कारण भए भने होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले पनि खपतमा कमी हुन आयो’, उनले भने, ‘विभिन्न कारणले गर्दा खपतमा कमी हुँदा मिल्क होलिडे रोक्न हाम्रो देशका डेरी उद्योगहरूले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नु पर्ने बाध्यता बन्यो । पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा करिव बटर र धुलो दुध गरि ५ अर्ब रकम बराबरको स्टक भएर धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् ।’

किसानले समयमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन कठिनाइ भएको उनको भनाई छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update