Odapalika - The Fourth Estate - चौथो अंग
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने 

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । 

५ दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिकसहितका विभिन्न प्रस्तावहरु पेश हुने छन् । साथै बैठकले पार्टीको विधान अधिवेशनसहितका विषयमा पनि निर्णय लिने छ । बैठकमा पेश गर्ने प्रस्ताव पारित गर्न केन्द्रीय कमिटी बैठक अघि माओवादी स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । 

माओवादीले मंसिरमा विधान सम्मेलन गर्ने जनाएको छ । बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् । 

आजबाट सुरु हुने बैठकको प्रत्यक्ष प्रशारण गरिने माओवादीका नेताहरुले बताएका छन् । बैठकको प्रत्यक्ष प्रशारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजवाट गरिने माओवादी नेता देब गुरुङले बताएका छन् ।

कांग्रेसले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेपछि माओवादीले पनि गर्न लागेको हो । तर यो प्रक्रियालाई लिएर माआवादीभित्रै असन्तुष्टिसमेत देखिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update