Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल टेलिकमले मनायो २०औँ वार्षिकोत्सव

काठमाडौँ । नेपाल टेलिकमले २०औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीय तहसम्म सेवा विस्तार गर्न सहयोग गर्ने सबै कर्मचारी र सम्बद्ध पक्षलाई धन्यवाद दिइन् । 

उनले पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिएकी छन् । 

सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्री शर्माले कम्पनीको प्रगतिलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यक रहेको बताइन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको बताए ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित  मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको जानकारी दिइन् । 

कम्पनीले भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको बताउदै प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने र वीर अस्पताल लगायत सामुदायिक अस्पतालहरुमा कुरुवाहरुको लागि बेड र चेय र उपलव्ध गराउने जानकारी दिइन् । 

कार्यक्रमका अवसरमा टेलिकममा कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update