Odapalika - The Fourth Estate - चौथो अंग
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारोवडी जहाज भाडामा ल्याउने भएको छ । 

निगमले जहाज भाडामा ल्याउन मंगलबार अन्तर्राष्ट्रिय बोलपत्र समेत आह्वान गरेको छ । ४५ दिनको समय राखेर आह्वान गरेको बोलपत्रको अन्तिम मिति मार्च २२ राखिएको छ ।

निगमका अनुसार उत्पादक कम्पनी, जहाज कम्पनी र जहाज भाडामा दिने कम्पनीले उक्त बोलपत्र अनुसार आवेदन दिन सक्नेछन् । निगमले आह्वान गरेको बोलपत्र अनुसार जहाज दैनिक न्यूनतम ७ घण्टा अर्थात् मासिक ३१० घण्टा (ब्लक आवर) उडाउन मिल्ने खालको हुनुपर्नेछ । 

जहाजमा कम्तीमा १५० वटा इकोनोमी क्लास सिट, सिटमा इनफ्लाइट इन्टरटेनमेन्ट (आइएफई) र वाइफाइ सुविधा भएको हुनुपर्नेछ । १ वर्षका लागि जहाज भाडामा लिन लागेको निगमले ६ महिनाभित्र आवेदकले जहाज उपलब्ध गराउनुपर्ने जनाएको छ । 

निगमले आफूसँग भएका जहाज उडाउन नसक्ने, लिएको ऋण तिर्न नसक्ने तर, कमिसनका लागि निगमलाई धरासायी बनाउन भाडामा जहाज ल्याउने प्रपञ्च रचिएको जानकारहरू बताउँछन् । 

निगमले २ थान न्यारोवडी र २ थान वाइडबडी गरी ४ ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । तर, निगमको खराब व्यवस्थापनका कारण ४ थान जहाज उडानभन्दा बढी ग्राउन्डेड हुने गरेका छन् । 

न्यारोवडी जहाज ७० दिनदेखि ग्राउन्डेड निगम व्यवस्थापनले भाडामा २ वटा न्यारोवडी जहाज ल्याउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै गर्दा निगमसँग भएको एक थान न्यारोवडी जहाज विगत ७० दिनदेखि ग्राउन्डेड (बन्द) छ । 

जहाजको इन्जिनमा समस्या आएपछि गत नोभेम्बर ३० देखि निगमको ‘नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी’ जहाज ग्राउन्डेड भएको हो । लामो समयसम्म त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगम व्यवस्थापनले गत जनवरी १२ मा मर्मतका लागि इजरायल पठाएको छ । 

निगमले इजरायलको आईएआई कम्पनीसँग इन्जिन मर्मतका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार इन्जिन मर्मतका लागि पठाईएपनि अहिलेसम्म मर्मत सम्पन्न भएको छैन ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update