काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले सो कुरा बताएका हुन् ।
उनले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर, कर्मचारीको कामको रिजल्ट चाहिने भन्दै रिजल्टका आधारमा मूल्यांकन हुने बताए ।
व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नु उनले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’
आन्तरिक राजश्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’ अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’
मन्त्री डा. महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए ।