Odapalika - The Fourth Estate - चौथो अंग
२५ माघदेखि बुटवल मेयर कप, बिजेतालाई १ लाख पुरस्कार 

बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनले बुटवल ११ को फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल १३ को जबइ खेलमैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताए ।

उनले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताए ।

प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए । 

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update